संयुक्त बैठकमा नेपाली टोलीको कन्तबिजोग १३ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको भ्रमण टोली भारत पुगेको भोलिपल्ट बिहान ...
संयुक्त बैठकमा नेपाली टोलीको कन्तबिजोग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुको परिचय गराएपछि नेपालका शेरबहादुर देउवाले आफ्ना मन्त्रीहरु चिनाउने पालो आयो ।
देउवाले मोदीलाई नेपाली मन्त्रीहरुको परिचय गराइसकेपछि उनीहरु भ्रमण दलका अन्य सदस्यतिर अघि बढे । प्रधानमन्त्री देउवासँगै रहेका परराष्ट्र मन्त्रालयका अधिकारीले नेपाली भ्रमणदलका सदस्यको परिचय मोदीलाई गराउन थाले ।
लहरमा उभिएका थिए- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ डा. गोविन्दराज पोखरेल । तर, मोदीलाई परराष्ट्रका अधिकारीले उनको परिचय यसरी दिए – उहाँ गोविन्दराज जोशी !
देउवा र मोदीका वीचमा रहेका परराष्ट्रका ती उच्च अधिकारीको सामान्य ज्ञानको शक्ति यतिमै सीमित रहेन । उनले त्यहाँ रहेका सांसद अभिषेकप्रताप साहको पनि जात परिवर्तन गरिदिए । मोदीसँग चिनजान गराउँदै सरकारी अधिकारीले भने- उहाँ माननीय अभिषेकप्रताप शुक्ला !’
आफ्नो थर परिवर्तन गरिएकोमा साहले परराष्ट्रका कर्मचारीलाई पछि भएको अनौपचारिक भेटमा गुनासो पोख्दै भने- ‘म तराईको राजपुतको छोरो हुँ, तपाईले मलाई बाहुन बनाइदिने ? आफ्नो भ्रमण टोलीको नामसम्म चिनाउन नसक्ने परराष्ट्रका कर्मचारीको पारा के हो यो ?’
परराष्ट्रका ती अधिकारीले नेपाली नेताहरुलाई मोदीसमक्ष परिचय गराउने क्रममा पूर्वकानूनमन्त्री एवं सांसद अजयशंकर नायकको भने थर परिवर्तन गरेनन् । किनभने, उनले अजय शंकरलाई चिन्दै चिनेनन् । अन्ततः उनले आफैं हात मिलाएर मोदीलाई भने- ‘म अजयशंकर नायक ।’
तयारी विनाको बैठक

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा नेपाली पक्ष विनातयारी प्रस्तुत भएको थियो । संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुनुभन्दा अघि बसेको दुई पक्षीय बैठकमा देखिएको कन्तविजोगबाटै प्रष्ट हुन्थ्यो कि नेपाली टोलीको स्थिति के थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा नेपालको बाढीबारे कुरा गर्लान् भन्ने धेरैको अपेक्षा थियो । सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपालमा पुगिरहेको क्षतिबारे भारतसँग केही कुरा होला भन्ने नेपाली जनताको अपेक्षा थियो ।
भारतसँगको संयुक्त बैठकमा बाढीको विषयमा कुरा नउठेको होइन, तर नेपाली पक्षले कुनै पनि ठोस प्रस्ताव पेश गर्न सकेन ।
बैठकमा सहभागी एक उच्च सरकारी अधिकारीले दिएको जानकारी अनुसार त्यहाँ भारतीय पक्षले बाढीका सन्दर्भमा के गर्न सकिन्छ भनेर सोधेको थियो । तर, प्रधानमन्त्री देउवा आफैंले नेपालमा ‘संरचनात्मक कमजोरीका कारण बाढीले क्षति गरेको भन्दै के के गर्न सकिन्छ, गरौं’ भन्दै अन्त्यन्तै अमूर्त ढंगले यो विषयलाई अन्त्य गराइदिए ।
ती सरकारी अधिकारीका अनुसार बाढी नियन्त्रणका विषयमा कुरा उठ्दा नेपालले भारतसँग ठोस प्रस्ताव राख्नुपर्दथ्यो । यसका लागि पहिल्यै गृहकार्य हुनुपर्दथ्यो । सीमा क्षेत्रका कुन कुन बाँधहरुका विषयमा भारतले गर्नुपर्ने के हो, त्यसबारे नेपालले स्पष्ट कुरा राख्नुपर्दथ्यो । सप्तरी लगायतका जिल्लामा भारतले एकलौटी बनाइरहेको बाँधका विषयमा नेपालले आफ्नो अडान प्रस्तुत गर्नुपर्दथ्यो । तर, नेपाली पक्ष बैठकमा विना तयारी उपस्थित भएको थियो ।
बरु उल्टै बाढी नियन्त्रणका लागि के गर्न सकिन्छ, गरौं भनेर भारतलाई
उसको डिजाइनअनुसार प्रस्ताव ल्याउन बाटो खुल्ला गरिदिने काम नेपाली पक्षले
बैठकमा गरेको सहभागी एक सदस्यको आरोप छ ।
प्रधानमन्त्री देउवाले संयुक्त पत्रकार सम्मेलनमा बोल्ने क्रममा भनेका
थिए, यो मेरो चौथो औपचारिक भारत भ्रमण हो । तर, प्रधानमन्त्रीका रुपमा
चारचोटि भारतको भ्रमण गरेका देउवाले गार्ड अफ अनरका बेला सलामी थाप्न
कतातिर जानुपर्छ भन्ने मेसो पाएनन् र झुक्किए ।राष्ट्रपति भवनमा गाडीबाट उत्रिइसकेपछि मोदीले उनलाई हात मिलाएर स्वागत गरे । फोटो सेसन भयो । त्यसपछि आरजू र मोदी एकातिर, देउवाचाहिँ सलामी लिने ठाउँतिर लाग्नुपर्ने थियो । तर, देउवा पनि पछिपछि लागे, मोदीले उनलाई अर्कोतर्फ जान थप इशारा गरेपछि मात्रै उनी ए… भन्दै बाटो लाग्दा मानिसहरु मुसुमुसु हाँसेका थिए ।