सानुमायालाई नगद १ लाख ६४ हजार ५ सय राहत इटहरी । किरात राई यायोक्खा सुनसरीले निरन्तरको वर्षाका कारण गत महिनाको बाढीबाट पिडितहरुलाई शनिब...
सानुमायालाई नगद १ लाख ६४ हजार ५ सय राहत
इटहरी । किरात राई यायोक्खा सुनसरीले निरन्तरको वर्षाका कारण गत महिनाको बाढीबाट पिडितहरुलाई शनिबार राहत वितरण गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं. ९ र १० का २ सय ७७ बाढीपिडितलाई वडा कार्यालयको समन्वयमा वडामै राहत वितरण गरेको हो । लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न सहितको करिब ४ लाख रुपैया बराबरको राहत वितरण गरिएको यायोक्खा सुनसरीका अध्यक्ष कमला राईले बताउनुभयो ।उक्त राहत किरात राई साँस्कृतिक कलाकार संघ सुनसरी, किरात राई विद्यार्थी संघ सुनसरी र केन्द्रिय समिति, भोजपुर सुनसरी सेवा समाज, नारी एकता समुह धरान लगायत संघसंस्थाहरुको पहलमा संकलन गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । यसअघि इटहरी स्थित तायारिप्ची भवनमा एक कार्यक्रमको आयोजना गरी बाढीमा करिब १५ किमी बगेर पनि बहादुरीपुर्वक बाँच्न सफल इटहरीकी सानुमाया राईलाई नगद १ लाख ६४ हजार ५ सय रुपैया सहयोग हस्तान्तरण गरियो ।

गत महिनाको बाढीमा आफ्नो घरजग्गा र परिवार सहित बगेकी सानुमाया बाढीमा परेको करिब ४ घण्टापछि रुख समातेर बाँचकी थिइन् । बाढीमा उनले घरजग्गा, आमा, भाई लगायत परिवारका अन्य सदस्य भने गुमाइन् । यायोक्खाका केन्द्रिय सल्लाहकार प्रा.डा. नोबलकिशोर राईको पहलमा काठमाण्डौमा संकलन गरिएको ७० हजार ५ सय रुपैया उक्त कार्यक्रममा राईलाई हस्तान्तरण गरिएको थियो ।
राहत वितरण कार्यक्रमका प्रमुख अतिथी यायोक्खा केन्द्रिय सदस्य श्रीशीशा राईले उक्त रकमको चेक र सम्मानपत्र पिडित राईलाई हस्तान्तरण गर्नुभएको थियो । युकेका शुभचिन्तकहरुले संकलन गरी पठाएको ९४ हजार रुपैया इटहरीका समाजसेवी रामप्रसाद राईमार्फत हस्तान्तरण गरिएको थियो ।सानुमायालाई सकुशल उद्धार गर्ने विरु क्रृषिदेव र अनिल क्रृषिदेवलाई समेत जनही १२ हजार ५ सयका दरले सहयोग प्रदान गरिएको थियो ।