तनहुँ– तनहुँ निर्वाचन क्षेत्र नं १ बाट बागी उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी रद्ध भए...
तनहुँ–
तनहुँ निर्वाचन क्षेत्र नं १ बाट बागी उम्मेदवारी दिएका नेपाली
काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी रद्ध भएपछि
निर्वाचन आयोगको निर्णय घोर अप्रजातान्त्रिक र असंबैधानिक भएको प्रतिकृया
जनाएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै आयोगको निर्णयले कानुनी
राज्यको अवधारणालाई खिल्ली उडाएको बताएका छन् ।
आयोगले
शनिबार जोशीको उम्मेदवारी रद्द गरेको थियो । ‘नेपाली काङ्ग्रेसको आधिकारिक
उम्मेदवार मै हँु, पहिले उम्मेदवारी दर्ताका समयमा पनि भनेको थिए अहिले
पनि फेरि भन्छु म नै हँु काङ्ग्रेसको आधिकारिक उम्मेदवार’ पत्रकार
सम्मेलनमा जोशीले भने । ‘हिजो नामावली प्रकाशित गर्दा मेरो नाम प्रकाशित
भएन । मेरो नाउँ किन प्रकाशित भएन, कहाँ के निर्णय भयो त्यो बारे मलाई
जानकारी छैन ।’
अहिलेको अवस्थामा यो
विषयमा कानुनी आधार के कस्तो छ त्यो बारे आफुले कानुनी सल्लाहकारसंग छलफल
गरिरहेको जोशीले बताए । २०६४ सालमा समेत आफुले तनहुँबाट चुनाव लडेको र त्यो
बेला निर्वाचन आयोगबाट कुनै अवरोध नआएको जोशीले जानकारी गराए । आयोगमा
उजुरी दिने रामचन्द्र पौडेलका विषयमा भने जोशीले पत्रकार सम्मेलनमा कुनै
टिप्पणी गरेनन् । जोशीको उम्मेदवारी खारेजीको माग गर्दै नेता रामचन्द्र
पौडेलबाट परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यलयले शनिबार जोशीको
उम्मेदवारि खारेजी गरेको थियो ।
भ्रष्टाचारको
मुद्दामा मुछिएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय
गरेको हो । जोशी बिरुद्ध भ्रष्टाचारको अभियोग लागेको हुनाले उम्मेदवार हुन
अयोग्य भएको ठहर्याउँदै उम्मेदवारी खारेजी गरिएको निर्वाचन कार्यालयले
जनाएको छ ।
नेपाली कांग्रेसले टिकट
नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि
तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, जोशीविरुद्ध कांग्रेस
उम्मेदवार पौडेलले उजुरी दिएका थिए । जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा
मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन मागेको थियो ।
आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै
जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको थियोे ।