२७ अगस्ट बेल्जियम । नेपालका वरिष्ठ साहित्यकार प्रोफेसर डा. कविताराम श्रेष्ठको भगवान बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यास महाभिनिष...
२७ अगस्ट बेल्जियम । नेपालका वरिष्ठ साहित्यकार प्रोफेसर डा. कविताराम
श्रेष्ठको भगवान बुद्धको जीवनीमा आधारित अनुसन्धानात्मक उपन्यास
महाभिनिष्क्रमणका अस्वीकृत पाइलाको अंग्रेजी अनुवाद ‘लाइट अफ दि हिमालयज’
नामक कृतिको लोकार्पण गरिएको छ ।भुटानको तर्फबाट बेटनेलक्स तथा युरोपियन युनियनका लागि राजदुत पेमा चोदेनले लुभेनको कल्चर सेन्टरमा आयोजित कार्यक्रममा उपन्यासको अनावरण गरेका हुन् ।
उक्त पुस्तक अनावरण कार्यक्रमका सभापति लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार तथा लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले ‘लाइट अफ दि हिमालयज’ले भगवान बुद्धको जन्म र ज्ञान प्राप्तिका सन्दर्भमा लेखिएका ऐतिहासिक परम्परागत र अवैज्ञानिक तथ्यहरुलाई खारेज गर्दै वैज्ञानिक दृष्टिकोण अनुरुप विश्व जगतलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका खेल्ने र बुद्धको जन्मस्थल लुम्बिनीको प्रवर्धनमा समेत सहयोग पुग्ने धारणा व्यक्त गरे ।
साथै लेखक प्रोफेसर डा. कविताराम श्रेष्ठको स्वास्थ्य अवस्था प्रतिकुल भएका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ रहेकाले उनको सन्देश पढेर सुनाउँदै उनको साहित्यक यात्रा र बहुआयामिक व्यक्तित्वको बारेमा संक्षेपमा प्रकाश पारे ।
नेपाली राजदुतावासका कार्यवाहक राजदुत सुधीर भट्टराईले बुद्ध र लुम्बिनी नेपालको राष्ट्रिय गौरव भएको बताउँदै यी हाम्रा राष्ट्रिय गौरवहरुको उत्थानको लागि आयोजना गरिएको कार्यक्रममा उपस्थित हुन पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आयोजकप्रति कृतज्ञता व्यक्त गरे ।
त्यसैगरी कार्यक्रममा इन्डोनेसियाली राजदूतावासकी प्रतिनिधि तोवान्नी पानजैतनले राजदुत युरी ओचतवियन थमि्रन उपस्थित हुन असमर्थ भएकोले उनको कार्यक्रम सफलताको सन्देश लिएर आफू उपस्थित भएको बताउँदै बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा र विश्वकै सबैभन्दा ठूलो बुद्धिस्ट मन्दिर बोरोबुदुर इन्डोनेसियामा रहेकोले नेपाल र इन्डोनेसियाको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अर्का अतिथि क्याथोलिक युनिभर्सिटी लुभेनका प्रोफेसर डा. हान वेरस्चुरेले नेपालमा २ वर्ष अघि गएको महाभुकम्प पछि नेपालमा मानववस्ती बसाउने पुननिर्माण कार्यमा आफ्नो सक्रियता रहेको बताउदै नेपालको विकाश र पुन्निर्मान्मा सकेको योगदान पुर्याउँदै जाने बताए ।
कार्यक्रममा श्री लंकाको राजदुतावासका प्रतिनिधि मधावा सेनानायाके, युरोपियन युनियन अन्तर्गतको युरोपियन एक्सटर्नल एक्सन सर्भिसकि वरिष्ठ सल्लाहकार लुट फाबेर्ट गोसेन्स तथा नेपालको तर्फबाट बेल्जियमका लागि होनोररी कंसुल रोजेर दे ग्रोएनको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रम आयोजक लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका सचिव गीर्ट कत्रिस्सेले संचालन गरेको कार्यक्रममा कार्यकारी सदस्य योगिता थापाले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको अन्तमा रखिएको छोटो नेटवर्क रिसेप्सनमा अतिथिहरुको सेवामा कार्यकारी सदस्य सीमा सुबेदी, अनिल थापा तथा उपाध्यक्ष अनिता लामा संलग्न थिए ।

