इनरुवा -सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१० जल्पापुरका अब्दुल रहमानले मेहनतका साथ पाँच कट्ठा जग्गामा धानखेती गर्नुभएको थियो । पाँ...
इनरुवा -सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–१० जल्पापुरका अब्दुल रहमानले मेहनतका साथ पाँच कट्ठा जग्गामा धानखेती गर्नुभएको थियो ।
पाँच
कट्ठामा लगाएको धानले छ महिनासम्म खान पुग्ने भएकाले उहाँलाई आफ्नो जग्गा
नभए पनि ऐलानी जग्गामा सुर्वणा धान लगाउनुभयो । तर त्यो धानबालीलाई केही
दिन अगाडि आएको विनाशकारी बाढीले बगाएपछि अहिले उहाँलाई अब कसरी दिन
बिताउने भने चिन्ताले सताएको छ । पाँच कट्ठा जग्गामा लगाएको धानबाट २५ देखि
३० मनसम्म उत्पादन हुने आशा गरेको धानखेती एक्कासि आएको बाढीले बगरमा
परिणत गरिदिएपछि अहिले उहाँ चिन्तित हुनुभएको छ ।
रहमान
जस्तै इनरुवा नगरपालिका–१० का डोमी मन्सुरीको अवस्था पनि उस्तै छ । उहाँले
आफ्नै १० कट्ठा जग्गामा धानबाली लगाउनुभयो । तर एक्कासि केही दिन अगाडि
आएको बाढीले धान बगाएपछि अहिले उहाँ चिन्तित हुनुभएको छ । रु ४० हजार लगाएर
गरेको धानबाली बाढीले बगाएपछि अहिले उहाँलाई कसरी परिवार चलाउने भने
समस्याले सताएको छ । वर्षभरि खान पुग्ने धानको बाली बगाएपछि कसरी वर्षभरि
गुजारा चलाउने भने चिन्ताले रहमानलाई पिरोलिरहेको छ ।
उहाँ
जस्तै जल्पापुरका मोहम्मद जाकिरको अवस्था पनि उस्तै भएको छ । उहाँले २००
देखि ३०० सम्म मजदुर ल्याएर मेहनतका साथ गरेको धानखेती बगाएपछि अहिले उहाँ
के गर्ने भन्ने सोचमा पर्नुभएको छ ।
घरमा
भएको अन्नपात, लत्ताकपडा, बाढीले बगायो, मेहनतका साथ गरेको धानबाली बाढीले
बगायो अब के गर्ने भन्ने सोचमा परेको उहाँ बताउनुहुन्छ ।
उहाँहरु
त सुनसरीका लागि उदाहरणका पात्र मात्र हुनुहुन्छ । उहाँहरु जस्तै जिल्लाका
एक लाख कृषकले लगाएको १७ हजार ५०० हेक्टर क्षेत्रफलको धानखेती बाढीले
बगाएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । उक्त धानबाली
बाढीले बगाउँदा करिब रु दुई करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास
कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले बताउनुभयो ।
यता
जिल्ला कृषि विकास कार्यालय, सुनसरीले बाढीले बगाएको धानखेतीको तथ्यांक
संकलन गर्ने काम भइरहेको जनाएको छ । धानखेती बाढीले बगाएको ठाउँमा अब पुनः
धानखेती लगाउनतर्फ कृषकलाई प्रेरित गर्ने कृषि विकास कार्यालय सुनसरीका
विकास अधिकृत दीपेन्द्र पोखरेलले बताउनुभयो ।
उहाँले
तथ्यांक संकलन भएपछि कृषकलाई उचित क्षतिपूर्ति दिलाउनतर्फसमेत पहल गर्ने
बताउनुभयो । त्यसैले धानबाली नष्ट भएका वास्तविक कृषकको विवरण संकलन गरेर
राहत दिनेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । अजितकुमार झा