नदी किनारमा घरबास, पानी परेपछि त्रासैत्रास कटानले पूर्वी पहाडी जिल्लाका नदी किनारका दर्जन वस्ती जोखिममा ११ भदौ, ताप्लेजुङ। ठाडा र खहरे ख...
नदी किनारमा घरबास, पानी परेपछि त्रासैत्रास
कटानले पूर्वी पहाडी जिल्लाका नदी किनारका दर्जन वस्ती जोखिममा
११ भदौ, ताप्लेजुङ। ठाडा र खहरे खोला धेरै रहेका पूर्वी नेपालका
ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायतका जिल्लाका नदी आसपासका दर्जन बढी बस्ती
बाढीको जोखिममा परेका छन् ।बस्ती आसपासमा रहेका खोलाहरुले बस्ती रहेको भाग कटान गर्न थालेपछि यी क्षेत्र जोखिममा परेका हुन् ।
तमोर नदी किनारमा मात्रै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटामा दर्जनभन्दा बढी बस्ती रहेका छन् । काबेली, हेवा, मेवा, मैवा जस्ता नदी किनारमा बनाइएका बस्तीसमेत बाढीको जोखिमा रहेको जिल्ला भू–संरक्षण कार्यालय ताप्लेजुङले जनाएको छ । पछिल्लो समय अत्यधिक वर्षा र पहिरोका कारण नदीमा निरन्तर बाढी आउँदा नदी किनारका बस्ती जोखिममा रहेका हुन् ।
ताप्लेजुङको दुईवटा ठूला बजार दोभान र सिवा नदी किनारमा नै रहेको छ भने केही गाउँपालिकाको केन्द्र समेत नदी किनारमा रहेकाले बाढी आए जोखिम बढी हुने विज्ञहरुको भनाइ छ । अघिल्लो वर्ष तमोर नदीमा आएको बाढीले सदरमुकाम फुङ्लिङ जोड्ने मोटरेबल पुल बगाएपछि र मेवाको बाढीले बजारको तल्लोपट्टिको भाग कटान गरेपछि ठुलो पानी पर्नसाथ दोभान बजारका स्थानीय बाढी आउने डरले जागराम बस्ने गरेको स्थानीय व्यापारी टंक खतिवडाले बताए ।
हिउँदको समयमा नदी किनारको बस्तीमा बस्न रमाइलो भए पनि वर्षातको समयमा अधिकांश रात जागराम बस्नुपर्ने बाध्यता रहेको खतिवडाले बताए ।
ताप्लेजुङका नदी किनारमा २०२० को बाढीले बगर बनाएको क्षेत्रलाई बिराएर बढि बस्तिहरु निर्माण भएको जानकारहरु बताउँछन् ।