मोरङ, १८ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थ...

मोरङ, १८ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित
पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको
घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको
बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट खसेर रुखमा ठोक्किएको
थियो । दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद
राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत्यु भएको इप्रका
बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी झापा भद्रपुर–१ की १८ वर्षीया रेणु
राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ
। स्कारपिओ पूर्णरुपमा क्षतिग्रस्त भएको छ । प्रहरी निरीक्षक कटुवालका
अनुसार स्कारपिओका चालक अहिलेसम्म प्रहरीको सम्पर्कमा छैनन् । दुर्घटनामा
चालक पनि घाइते भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
