२३ भदौ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न गएका प्राध्यापकहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको बल प्रय...

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न गएका प्राध्यापकहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको बल प्रयोगबाट एकजना घाइते भएका छन् ।
अमृत साइन्स क्याम्पसमा फिजिक्स विषय पढाउँदै आएका शिरोमणि गजुरेल घाइते भएका हुन् । उनलाई उपचारका लागि बीर अस्पताल लगिएको छ ।
आंशिक प्राध्यापक संघका अध्यक्ष शशि शर्माका अनुसार गजुरेलको छातिमा चोट लागेको छ । प्रहरीले गजुरेलको छातिमा बुट प्रहार गरेर घाइते बनाएको शर्माको भनाइ छ ।
आंशिक सेवा खारेज गरी करार सेवामा नियुक्ति दिनुपर्ने माग गर्दै गत बैशाख महिनादेखि आंशिक प्राध्यापकहरुले आन्दोलन गर्दै आएका छन् । शुक्रबार दिउँसो दुई बजेदेखि तीन बजेसम्म बालुवाटारमा सडक बन्द गरेर आंशिक प्राध्यापकहरुले धर्ना दिएका थिए । त्यसपछि प्रहरीले बाटो खुलाउन बल प्रयोग गरेको हो ।
आफ्ना माग सम्बोधनका लागि दबाव दिने उद्देश्यले उनीहरुले गत साउन २६ गतेदेखि पढाइ पनि बन्द गरेका छन् । यसअघि उनीहरुले रिले अनसन बस्ने, नेताहरुलाई ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम गरेका थिए । यही भदौ ६ गते आंशिक प्राध्यापकहरुले त्रिविका भिसी, रेक्टर र रजिष्ट्रारलाई जनप्रशासन क्याम्पस बल्खुमा थुनेका पनि थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्न त्रिवि पदाधिकारीलाई निर्देशन दिइसके पनि भिसीले बेवास्ता गरेको आंशिक प्राध्यापकहरुको आरोप छ ।