१७ भदौ, काठमाडौं । दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भए...

गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति बैठकबाट फर्कंदै गरेका मोर्चाका नेता दावा भुटियाको शुक्रबार तकबरको सिंग्ला प्रहरीको गोलीबाट मृत्यु भएको हो । प्रहरीले तीन केन्द्रीय सदस्यसहित १२ जनालाई पक्राउ गरेको मोर्चाले जनाएको छ । प्रहरीले केन्द्रीय सदस्य सिलगुडीका शंकर अधिकारी, दार्जिलिङकी सावित्री राईसहित नेतालाई पक्राउ गरेको हो ।
यता, बिहीबार राति प्रहरीको कुटाइबाट गोर्खा जनमुक्ति मोर्चाकी कार्यकर्ता रोमाना राईको दार्जिलिङमा मृत्यु भएको छ ।
मोर्चाका सहसचिव विनय तामाङले शुक्रबारबाट बन्द खुल्ने घोषणा गरेपछि बिहीबार साँझ निस्केको जुलुसमा प्रहरीले लाठीचार्ज गर्ने क्रममा राईको मृत्यु भएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन् । आन्दोलनकारीमाथि बंगाल प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको मोर्चाले आरोप लगाएको छ ।
प्रहरीको कुटाइले टाउकोमा गम्भीर चोट लागेकी राईको राति ११ बजे मृत्यु भएको थियो । गोर्खाल्यान्ड प्राप्तिका लागि जारी ७९ दिन लामो आमहडताल क्रममा १२ जनाको मृत्यु भइसकेको छ ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।