विराटनगर - नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले जनताको भावनालाई कदर गर्दै संविधानलाई समृद्ध बनाउने उद्घोष गर...
प्रेस चौतारी र प्रेस सेन्टर, मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले सामाजिक सद्भावको विकासका लागि आपूmले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।
संयुक्त वाम गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नं ६ को प्रतिनिधि सभाको उम्मेदवारसमेत रहनुभएका उहाँले बृहत्तर विराटनगरको विकासको अवधारणाअन्तर्गत प्रदेश नं १ को प्रादेशिक राजधानी विराटनगर बनाउन दृढ संकल्पित रहेको उल्लेख गरे ।
विराटनगरको रिङ्रोडको उचाइमा वृद्धि गरी विराटनगरलाई बाढीबाट जोगाउने भन्दै उहाँले यस क्षेत्रको नदीमा तटबन्ध निर्माण गराउने, विराटनगरमा ‘भ्यू टावर’, सडक निर्माणका साथै अव्यवस्थित बसोबास रहेकाले जनता आवास कार्यक्रमतर्फ पनि केन्द्रित हुने जानकारी गराए ।
उहाँले विराटनगरलाई ‘शैक्षिक हब’ केन्द्र को रुपमा विकास गरी क्यान्सर र हृदयरोग अस्पताल स्थापनाका लागि पहल गर्ने बताउनुभयो । सोही क्षेत्रअन्तर्गत प्रदेश ‘क’ को वाम गठबन्धनका उम्मेदवार जीवन आचार्यले आफू निर्वाचित भएमा शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रका साथै सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गराउनका ठोस पहल गर्ने वचनबद्धता प्रकट गरे ।
उनले विराटनगरदेखि किमाथाङका सम्म सडक निर्माणका साथै आफ्नो क्षेत्रका सडकको निर्माणलगायतका विकास कार्यमा बढी केन्द्रित हुने जानकारी गराए ।
सोही क्षेत्रअन्तर्गत प्रदेश ‘ख’बाट वाम गठबन्धन उम्मेदवार रमेश पोखरेलले आफू सहकारीसँग जोडिएको उल्लेख गर्दै सहकारी, निजी र सार्वजनिक क्षेत्रको सहकार्य गराउन र सहकारी क्षेत्रलाई उच्च प्राथमिकतामा राखी ठोस रुपमा अगाडि बढाउने उल्लेख गरे ।
विकासवादी नेताको रुपमा पहिचान बनाउन खोजेको स्पष्ट पार्दै उनले विराटनगरको रिङरोडको निर्माण, केशलिया नदी नियन्त्रणका साथै सुकुम्बासी, गरिबीलगायतका समस्या समाधानका लागि कार्य गर्ने बताए । राष्ट्रिय समाचार समिति