भवानीप्रसाद पाण्डे/उज्यालो । रुपन्देही, कात्तिक २८ – वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उप–महासचिव बिष्णु पौडेल र घनश्याम भु...
भवानीप्रसाद पाण्डे/उज्यालो ।
रुपन्देही, कात्तिक २८ – वाम गठबन्धनबाट
उम्मेदवार बनेका नेकपा एमालेका उप–महासचिव बिष्णु पौडेल र घनश्याम भुसाललाई
रुपन्देहीमा नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनले
चुनौती दिँदैछ । दुवै उम्मेदवार अहिले मंसिर २१ गते हुने चुनावमा मत माग्न
व्यस्त रहनु भएको छ ।
त्यसो त स्वास्थ्य मन्त्री दिपक बोहोरा,
खानेपानी तथा सरसफाई राज्यमन्त्री अव्दुल रज्जाक, राजपाका वरिष्ठ उपाध्यक्ष
सर्वेन्द्रनाथ सुक्ला तथा पूर्व मन्त्रीहरु भरत साह र छविलाल विश्वकर्माको
राजनीतिक भविष्यको फैसाला रुपन्देहीका मतदाताले मंसिर २१ मा गर्दैछन् ।

पूर्व अर्थमन्त्री समेत रहनु भएका पौडेलले
२०५६ साल यता पहिलोपल्ट नयाँ प्रतिस्पर्धी पाउनु भएको छ । २०५६ को संसदीय
चुनावमा नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजीत भएयता भएका
चुनावमा पौडेल निरन्तर विजयी हुँदै आउनु भएको छ । अहिले भने उहाँलाई नेपाली
कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा सालिन युवा नेता युवराज गिरीले चुनौती
दिँदै हुनुहुन्छ ।
अर्का उपमहासचिव भुसाल भने २०७० सालको
संविधानसभाको चुनावमा झिनो मतान्तरले पराजित हुनु भएको थियो । एमालेबाट
निर्वाचित सांसद धनपति उपाध्यायको निधन भएपछि सम्पन्न उपचुनावमा २०५२ सालमा
भुसाल विजयी हुनुभएको थियो । फरक यति मात्रै हो उपचुनावमा तत्कालिन
राप्रपाका दिपक बोहोराको समर्थन भुसाललाई थियो भने अहिले कांग्रेसको
समर्थनमा बोहोरा र माओवादी केन्द्रको समर्थनमा भुसाल आम्नेसाम्ने हुनुहुन्छ
।
स्वास्थ्यमन्त्री रहनु भएका रुपन्देही
क्षेत्र नं ३ का राप्रपा प्रजातान्त्रिकका उम्मेदवार दिपक बोहोरा कांग्रेस
नेताहरुका साथमा घरदैलोमा व्यस्त हुनुहुन्छ । रुपन्देहीको विकासमा कांग्रेस
नेता बालकृष्ण खाँण र आफ्नो योगदान रहेको भन्दै बोहोराले लोकतान्त्रिक
गठबन्धनलाई भोट मागी रहनु भएको छ । २०७० सालको संविधानसभाको चुनावमा उहाँ
विजयी हुनु भएको थियो ।
खानेपानी तथा सरसफाई राज्य मन्त्री अव्दुल
रज्जाक रुपन्देही क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार छबिलाल
बिश्वकर्मासँग प्रतिस्पर्धामा हुनुहुन्छ । यो क्षेत्रमा रज्जाक र
विश्वकर्माको यो दोश्रो भेट हो । २०७० सालमा विश्वकर्मालाई नै झिनो मतले
पराजित गरी रज्जाक विजयी बन्नुभएको थियो ।
नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका
राजपाका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ सुक्लालाई क्षेत्र नं ४ मा
कांग्रेसकै प्रमोदकुमार यादबले चुनौती दिइरहनु भएको छ । युवा व्यवसायी
हुनुहुन्छ । २०६४ सालको संविधानसभामा रुपन्देहीको क्षेत्र नं २ बाट मधेसी
जनाधिकार फोरमबाट निर्वाचित भएका ओमप्रकास यादब गुल्जारी अहिले भने क्षेत्र
नं ४ मा एमालेको उम्मेदवार हुनुहुन्छ । सुक्ला २०७० सालको दोश्रो
संविधानसभामा विजयी हुनु भएको थियो
क्षेत्र नं ५ मा पूर्व मन्त्री कांग्रेसका
भरत साह र वाम गठबन्धका उम्मेदवार माओवादी केन्द्रका डिलाराम आचार्य आफ्नो
क्षेत्रमा चुनावी अभियानमा कृयाशील रहनु भएको छ । २०७० सालको चुनावमा
एमालेका रामनाथ ढकाललाई पराजित गर्दै कांग्रेसका साह विजयी हुनुभएको थियो ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय
सदस्य डिलाराम आचार्य २०५६ सालको प्रतिनिधिसभाको चुनावमा अर्घाखाँचीको
क्षेत्र नं १ बाट विजयी बन्नुभएको थियो । संयोग नै मान्नु पर्छ उती बेला
राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका आचार्यलाई एमालेको समर्थन थियो भने
अहिले माओवादी केन्द्रबाट उम्मेदवार बनेका आचार्यलाई एमालेकै समर्थन छ ।
रुपन्देहीमा प्रतिनिधिसभाका ५ र
प्रदेशसभाका १० स्थानका लागि चुनाव हुन लागेको हो । स्थानीय चुनावको नतिजा
हर्ने हो भने क्षेत्र नं ४ र ५ मा बाहेक अरु क्षेत्रमा वाम गठबन्धन अग्र
स्थानमा छ ।