मनोज भुजेल इटहरी– गत बिहीबार राती इटहरी ४ स्थित चौधरी टोलमा एक्कासी गोली चल्यो । गोली चलेपछि आसपासका स्थानीय त्रसित बने । गोली चलेको के...

इटहरी– गत बिहीबार राती इटहरी ४ स्थित चौधरी टोलमा एक्कासी गोली चल्यो । गोली चलेपछि आसपासका स्थानीय त्रसित बने । गोली चलेको केही मिनेटमै प्रहरी घटनास्थल पुग्यो । तर, गोली चलाउने व्यक्ति फरार भैसकेका थिए । घटनास्थलमा एक थान गोलीको खोका फेला पार्यो प्रहरीले । गोली ‘अटोमेटिक’ पेस्तोलबाट फायर गरिएको थियो ।
चुनावको मुख त्यसमा पनि इटहरी चोक नजिक गोली पड्केपछि प्रहरी तत्काल सकृय बन्नु स्वभाविक थियो । थाहा भयो– सोही स्थान बस्ने मनोज चौधरीले अर्काे सुजन नेपाललाई तर्साउन हवाई फायर गरेका थिए । प्रहरीले गोली चलाउने चौधरीको खोजीलाई व्यापक बनायो । उनले चलाउने बा ५ च २७८ को कार छाडेर फरार भैसकेका थिए । उनको खोजीमा सादा पोसाकका प्रहरी परिचालन गरेर जब घरमा छापा मार्न पुग्यो प्रहरीको टोली अनि तिन छक्क पर्यो ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी संञ्जय बहादुर राउत सहितको टोलीले उनको घर खानतलासी गर्दा उनको कोठामा राखिएका हतियार र अन्य सामाग्री देखेर आश्चर्य चकित बनेको हो । उनको कोठामा यति धेरै हतियार थिए –लाग्थ्यो कि त्यो कुनै हतियारको भण्डार नै हो ।
प्रहरीले उनको कोठा सर्च गर्दा पेस्तोल, एयरगन, गोली, खुकुरी, तरवार र कट्टी जस्ता घातक हतियार भेटिए । खेलौना प्रकारका बन्दुक र पेस्तोल त एति धेरै थिए कि गोदाम नै मानौ । चौधरीले घटनास्थलमा पड्काएको पेस्तोल कोठामा फेला नपारेपनि अन्य (होम मेड) एयर पेस्तोल ३ थान फेला परयो । साथै १६ थान खेलौना बन्दुक, गोली २ थान, ३ थान कट्टी, नक, चक्कु, ७६ थान हाते घडी, ल्यापटप, २५ थान मोबाइल सेट उनको कोठाबाट बरामद भयो ।

उनको कोठाबाट बरामद गरेको हतियारले फरार मनोज चौधरी कुख्यात अपराधी हुन सक्ने दाबी गरेको छ । अनुसन्धानबाट चौधरीले समुह बनाई रातको समयमा नक्कली र सक्कली दुवै बन्दुक प्रयोग गरेर लुटपाट गर्ने उद्धेश्यले हुन सक्ने बताएको छ । चौधरी इटहरी क्षेत्रमा साना हतियार र लागुऔषधको कारोबारी भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी राउतको दाबी छ । चौधरीले के उद्धेश्यले हतियार जम्मा गरेको हो भन्ने बिषयमा अनुसन्धान थालेको राउतले बताए । बरामद सबै हतियार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै डिएसपी राउतले लागुऔषध खरिदबिक्री गर्दा पैसा नहुने प्रयोकर्ताहरुबाट घडी र मोबाईल चौधरीले लिने गरेको उनको भनाई छ । ‘इटहरीमा यति धेरै हतियार अहिलेसम्म फेला परेको थिएन’, राउतले भने ‘यो प्रहरीको सफलता हो’ ।
चौधरीको खोजीमा प्रदेश १ लगायत देशका बिभिन्न स्थानमा प्रहरी परिचालन गरिएको समेत उनले बताए । उनि चाडै पक्राउ पर्ने राउतको दाबी छ । उनलाई ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियार तथा खरखजनाको मुद्धा दायर गरिएको पत्रकार सम्मेलनमा डिएसी राउतले जानकारी दिए ।
यस्तै दुई महिनाको अबधिमा इटहरी उपमहानगर भित्र ११ जना लागुऔषध, २४ जना गुण्डागर्दी, २३ जना यौनविकृति गर्ने, ९ जना ज्यान मार्ने उद्योग, १४ जना जुवाडे पक्राउ गरी कारबाही गरेको समेत पत्रकार सम्मेलनमा उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय इटहरीमा राउत आए पश्चात २० जना बिरुद्ध सार्वजनिक अपराध तथा ४ जना चोरीमा संलग्नलाई कारबाही गरेको बताइएको छ । चोरीका दुई सबारी र ४ वटा मोबाइल बरामद गरिएको छ ।
यस्तै अदालतबाट दोषी भइ हाल फरार रहेका १२ जना अभियुक्तलाई पक्राउ गरी अदालतमा हाजिर गराइएको समेत जानकारी डिएसपी राउतले दिएका छन् ।