नवलपरासी– नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दोस्रो संविधानसभाको चुनाव जितेका थिए । गैंडाकोट काङ्ग्रेसको आधार क्षेत्र देख...

नवलपरासी–
नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दोस्रो संविधानसभाको
चुनाव जितेका थिए । गैंडाकोट काङ्ग्रेसको आधार क्षेत्र देखेर आफ्नो गृहनगर
विराटनगर छाडेर शशांकले पूर्व नवलपरासीको १ नम्बर क्षेत्रमा उम्मेदवारी
दिएका थिए । जहाँबाट उनले दोस्रो संविधानसभाको चुनावमा उनले सहज जीत हात
पारे ।
अहिलेको टुक्रिएको नवलपरासी
(बर्दघाट सुस्तापूर्व) जिल्लाको सोही ठाँउलाई आधार बनाएर कोइरालाले
उम्मेदवारी दिएका छन् । गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, बुलिङटार
गाउँपालिका र ६ वटा वडाबाहेकको कावासोती नगरपालिका पूर्वी नवलपरासी
जिल्लाको १ नम्बर क्षेत्रमा पर्दछ ।
तर,
गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मत जोडेर हेर्दा बुलिङटार
गाउँपालिकाबाहेक अरु तीनै वटा नगरपालिकामा एमाले र माओवादीको मत बढी छ ।
हुनत बाम गठबन्धनबाट कमजोर उम्मेदवार सशांकको मुख्य प्रतिस्पर्धी छन् । १
नम्बर क्षेत्रमा बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार गठनबन्धमा
माओवादीका भविश्वर पराजुली छन्, जो माओवादी सम्बद्ध मानवअधिकारवादी
संस्थामा आबद्ध पनि छन् ।
संविधानसभाको
अघिल्लो दुई निर्वाचनमा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै निर्वाचनमा
होमिएकाबेला डा. कोइरालालाई निर्वाचन जित्न सहज भएपनि अहिले निर्वाचन
जित्नु फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ ।
बीपीपुत्र
भएकै कारण र कांग्रेसको माथिल्लो तहको नेता भएकै कारण यसअघि दुई–दुई पटक
सहज जीत हात पारे पनि डा.शशांकले यो क्षेत्रलाई फर्केर नहेरेको मतदाताको
गुनासो उनका लागि चुनौति बन्न सक्छ ।
डा.शशांक
कार्यशैलीप्रति यो क्षेत्रका कांग्रेसकै नेता कार्यकर्तासमेत सन्तुष्ट
देखिदैनन् । यद्यपी, एमाले–माओवादीको बाम गठबन्धन बनेकाले पनि आफुहरुको मत
अन्यन्त्र नजाने काङ्ग्रेसको विश्वास छ ।
स्थानीय
तहको मत परिणामअनुसार एमाले र माओवादी केन्द्रले यो क्षेत्रबाट ३२ हजार ७
सय ९२ मत प्राप्त गरेको थिऐ भने नेपाली कांग्रेसले ३१ हजार ६ सय ५५ मत
प्राप्त गरेको थियो । विवेकशील साझा पार्टीले ल्याउने मत पनि नेपाली
कांग्रेसबाटै काटिने भएकाले पनि कांग्रेसको मत अझै कम हुने कांग्रेसकै
स्थानीय नेता कार्यकर्ता बताउँछन् ।
बाम
गठबन्धनले गर्दा त्रसित बनेका कोइरालाले यसअघि फर्किएर यो क्षेत्रमा नआए
पनि उम्मेदवादी मनोनयन दर्ता पछि स्थानीय नेता कार्यकर्ताको साथ भने छाडेका
छैनन् । मनोनयन दर्ता गर्दै गर्दा कात्तिक १६ गते उनले कालीगण्डकी
करिडोरको कामको जस आफूले लिन खोजेका थिए ।
नवलपरासी
(बर्दघाट सुस्ता पूर्व) अर्थात् प्रस्तावित नवलपुर जिल्लाको क्षेत्र नम्बर
१ मा नयाँ शक्ति पार्टीका कृष्ण गौतम, विवेकशल साझा पार्टी हरिप्रसाद
गौतम, देशभक्त जनगणतान्त्रिक मोर्चाका पिताम्बर तिवारीसहित ८ दलका ८ जना
चुनावी मैदानमा छन् ।
यो क्षेत्रमा ५३ हजार १ सय ५१ जना पुरुष र ६० हजार ७ सय ९५ जना महिला गरी १ लाख १३ हजार ९ सय ४७ जना मतदाता रहेका छन् । ratopati