प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, कात्तिक २९ – प्रदेश नं. १ को पहाडी जिल्ला तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको माहोल बढेको छ...
प्रकाश धौलाकोटी/उज्यालो ।
तेह्रथुम, कात्तिक २९ – प्रदेश नं. १ को
पहाडी जिल्ला तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको माहोल बढेको छ
। जिल्लाबाट उम्मेदवारी दिएका विभिन्न नेता कार्यकर्ता अहिले मतदातालाई
आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बाँड्दै गाउँ–गाउँ पुगिरहेका छन् ।
जिल्लाबाट यसअघि चुनाव जितेकालाई आफ्नो आधार क्षेत्र जोगाउने र पराजित
भएकाहरु नयाँ इतिहास रच्ने ध्यानमा देखिन्छन् ।
जिल्लामा एघार वटा राजनीतिक दलले
उम्मेदवारी दिए पनि लोकतान्त्रिक र वाम गठबन्धनबिचमा कडा प्रतिस्पर्धा छ ।
यी दुई गठबन्धनबिचमा अहिले गाउँ–गाउँ पुग्न, कार्यकर्ता परिचालित गर्न,
घरदैलो गर्न, मतदातालाई आफ्नो पार्टीमा भित्राउन÷प्रभावित पार्न नेता
कार्यकर्ताबिच कडा टकराव चलिरहेको छ ।

एक मात्रै चुनाव क्षेत्र रहेको
प्रतिनिधिसभा सदस्य चुनावमा लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसकी
केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ र वाम
गठबन्धनका लागि नेकपा एमालेका निवर्तमान सांसद भवानीप्रसाद खापुङको
प्रतिस्पर्धा रोचक बनेको छ । नेपाली कांग्रेस, केन्द्रीय कार्य समितिको
दोश्रो पटक निर्वाचित सदस्य बन्नुभएकी नेतृ गुरुङ संविधान सभा–१ र २ मा
निरन्तर जिल्लाबाटै समानुपातिक सांसद हुनुभएको थियो ।
एमालेबाट तेश्रोपटक उम्मेदवार बन्नुभएका
नेता खापुङ २०७० को संविधानसभा चुनावमा जिल्लाबाट निर्वाचित हुनुभएको थियो ।
त्यसअघि २०६४ को संविधानसभा चुनावमा खापुङ कांग्रेसका तुलसी सुब्बासँग
पराजित हुनुभएको थियो । २०७० मा खापुङले कांग्रेसका सुब्बालाई नै पराजित
गर्नुभएको थियो । कांग्रेसकी उम्मेदवार युवा महिला नेतृ गुरुङ पहिलो पटक
प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएको हो । एमालेका खापुङले जित÷हार दुवैको
अनुभव संगालिसक्नुभएको छ ।
बहुदल स्थापना पछिका सबै चुनावमा निरन्तर
एमालेले नै जित्दै आएको जिल्लामा अचानक २०६४ मा कांग्रेसले जित्यो । तर
टिकाउन सकेन । २०७० मा एमालेले फेरि आफ्नो पुरानो इतिहास कायम गर्न सक्यो ।
स्थानीय चुनावमा पनि एमाले ६ मध्ये पाँच स्थानीय तहमा विजयी भयो । माओवादी
केन्द्र साँघुरियो । तेश्रो शक्तिको रुपमा रहेको माओवादी केन्द्रले
स्थानीय चुनावबाट एउटा वडाध्यक्ष मात्रै जिताउन सक्यो । यहाँका मतदाता
शिक्षित मानिन्छन् । तर पछिल्लो दशकमा यस्ता राजनीतिक उतार चढाव निरन्तर
छन् ।
एमालेका उम्मेदवार खापुङ २०७० को आफ्नो
जितलाई निरन्तरता दिन चाहनुहुन्छ भने कांग्रेसकी उम्मेदवारी गुरुङ आफूले
दुई पटक समानुपातिक हुँदा गरेको कामको फल चुनावबाट लिन चाहानुहुन्छ ।
जिल्लाबाट एक्ली महिला उम्मेदवार बन्नुभएकी गुरुङ प्रत्यक्ष निर्वाचित
अहिलेसम्मकै एक्ली महिला नेतृ बनेर अर्को इतिहास बनाउन चाहनुहुन्छ ।
निर्वाचित सांसद हुँदासमेत कार्यकर्ताको भावना बमोजिम काम गर्न नसकेको आरोप
एमाले नेता खापुङलाई छ । तर अहिले माओवादीको समेत मत थपिएपछि मजबुद संगठन
खापुङको पक्षमा छ ।
जिल्लाबाट पार्टीको केन्द्रिय सदस्य र
सरकारको राज्यमन्त्रीसम्म भएकी गुरुङबाट समेत अपेक्षाकृत काम नभएको
मतदाताको गुनासो छँदैछ । तर उहाँ जिल्लाबाट पछिल्लो झण्डै २५ वर्षको अवधिमा
सरकारको मन्त्री हुने एक्ली नेतृ हुनुहुन्छ । उहाँ प्रत्यक्षतर्फ पहिलो
पटक उम्मेदवार बन्नुभएको हो । त्यसकारण मतदाताको विश्वास एक पटक उहाँमाथि
अडिन पनि सक्छ । त्यसो त मतदाताले कति बेला ? कसलाई रोज्छन् ? भन्ने
मनोवैज्ञानिक अन्दाज लगाउन कठिन छ ।
यद्यपि इतिहास जोगाउन तल्लीन एमाले
उम्मेदवार खापुङ र इतिहास बनाउने दाउमा रहेकी कांग्रेस नेतृ गुरुङबिचको
चुनावी प्रतिस्पर्धा उत्कर्षमा छ । प्रतिनिधिसभामा गुरुङ र खापुङसँगै संघीय
लोकतान्त्रिक राष्ट्रिय मन्चका शंकरमान लिम्बु, नयाँ शक्ति पार्टी नेपालका
टंकबहादुर भटराई, नेकपा मालेका डिल्ली बुढाथोकी, मंगोल नेशनल
अर्गनाइजेसनका गंगाबहादुर चोङवाङ, संघीय समाजवादी फोरमका तिर्थ अधिकारी,
राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका
कालीबहादुर फुदोङ, राप्रपा प्रजातान्त्रिकका गौरीप्रसाद कन्दङवा र जनमुक्ति
पार्टीका सागरनाथ रेग्मीको उम्मेदवारी रहेको छ । सबै उम्मेदवार मतदातालाई
आफ्नो पक्षमा मतदान गर्न भन्दै गाउँ गाउँ पुग्न व्यस्त रहेका छन् ।
जिल्लाबाट प्रदेशको चुनावमा समेत बौद्धिक र
राजनीतिक रुपमा ख्याति कमाएका नेताहरु प्रतिस्पर्धी बनेपछि प्रदेश चुनाव
समेत उत्तिकै रोचक छ । प्रदेश सभा (क) मा कांग्रेस जिल्ला अध्यक्ष गोविन्द
ढुंगाना र एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीबिच प्रतिष्पर्धा हुने
देखिन्छ । ढुंगाना आफ्नो कार्यकालमा भत्किएको इतिहासलाई जोडघटाउ मिलाएर
नयाँ इतिहास बनाउने दाउमा हुनुहुन्छ भने तिवारी जोगाउने होडमा कुदिरहनुभएको
छ । त्यसो त संघीय लोकतान्त्रिक संविधान जारी भएपछिको पहिलो प्रदेशसभा
सदस्यको चुनावमा आफैमा पनि ऐतिहासिक छ ।
प्रदेश सभा (ख) मा अझै बौद्धिक
प्रतिस्पर्धा छ । कांग्रेसबाट प्याब्सनका केन्द्रीय अध्यक्ष विजय
सम्बाहाम्फे र एमालेका पूर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा यो क्षेत्रमा
भिड्दै हुनुहुन्छ । प्रदेश सभा (क) मा ढुंगाना र तिवारीसँगै संघीय
लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्व जिल्ला अध्यक्ष देउनारायण
सम्बाहाम्फे, संघीय समाजवादी फोरमका सूर्य मादेन, नयाँ शक्ति नेपालका
जिल्ला संयोजक विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेसनका डालेश्वर
लिम्बु, नेकपा मालेका माधव खनाल, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यबहादुर
थापा र राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङ्वा मैदानमा हुनुहुन्छ ।
प्रदेशसभा (ख) निर्वाचन क्षेत्रमा
कांग्रेसका सम्बाहाम्फे र एमालेका कन्दङवासँगै मंगोल नेशनल अर्गनाइजेसनका
डम्बर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीका मानबहादुर लिम्बु, संघीय
समाजवादी फोरमका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदादेवी
कार्की, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङवा र संघीय लोकतान्त्रिक
राष्ट्रिय मन्चका विष्णुकुमार चोङवाङ चुनावी मैदानमा हुनुहुन्छ । ujyalo online source